२०८३ मंसिर १४ , आइतवार

सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

shikshak-mahasangh-531×500

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल शिक्षक महासंघले शिक्षकहरूको अवकाश सुविधा, अस्थायी शिक्षकको पेन्सन र दुर्गम भत्तासम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै महासंघले आफ्ना माग सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै शिक्षकहरूको वृत्तिविकास र सेवा सुविधासँग जोडिएका तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराएको हो। नयाँ विद्यालय शिक्षा ऐन जारी भएपछि स्थायी भएका शिक्षक र ऐन जारी हुनुअघि स्थायी भएका शिक्षकबीच अवकाश सुविधामा विभेद हुन नहुने महासंघको माग छ ।

महासंघले नयाँ शिक्षा ऐन जारी हुनुअघि स्थायी भएका सबै शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरण उपलब्ध गराउनुपर्ने जनाएको छ । त्यस्तै, नयाँ ऐन जारी भएपछि स्थायी हुने शिक्षक–कर्मचारीका हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने व्यवस्था ऐनमै समेट्न र सोहीअनुसार निवृत्तिभरण ऐन संशोधन गर्न माग गरेको छ।

त्यसैगरी, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका पूर्वअस्थायी शिक्षकहरूलाई पनि निवृत्तिभरणको सुविधा उपलब्ध गराउन महासंघले आग्रह गरेको छ। सेवा अवधिका आधारमा अवकाश सुविधा पाउनुपर्ने शिक्षकहरूको मागलाई सरकारले बेवास्ता गर्न नहुने महासंघको भनाइ छ ।महासंघले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूले पाउँदै आएको दुर्गम तथा स्थानीय भत्ताको विषय पनि उठाएको छ। कार्यान्वयन पुस्तिकामा समावेश नभएको भन्दै उक्त भत्ता हटाइएको र विगतमा भत्ता बुझिसकेका शिक्षकलाई समेत रकम फिर्ता गर्न पत्राचार गरिएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ।

महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको आधारमा शिक्षा विकास तथा समन्वय इकाइ वा स्थानीय पालिकामार्फत शिक्षकलाई भत्ता फिर्ता गर्न भनिएको भन्दै महासंघले त्यसलाई अन्यायपूर्ण व्यवहारको संज्ञा दिएको छ। सरकारले विवादित नीतिमा सच्याउँदै दुर्गम तथा स्थानीय भत्ता सबै सम्बन्धित शिक्षकलाई उपलब्ध गराउनुपर्ने उसको माग छ। महासंघले शिक्षक–कर्मचारीसँग भएका सहमति कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको आरोपसमेत लगाएको छ।