२०८३ मंसिर १४ , आइतवार

प्रहरी निरीक्षक हुँ भनेर ठगी गर्ने ५ जना पक्राउ

934772236_1098081206614588_3480676713516913439_n_gT6Rtfmphh

सुनाखरी न्युज/ काठमाडौं ।

आफूलाई प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) बताउँदै थुनामा रहेका व्यक्ति छुटाउन २ लाख रुपैयाँ माग गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंसिर १० गते दिउँसो २ बजेतिर प्रहरीले सोधपुछका लागि बोलाइएका व्यक्तिलाई छुटाइदिने भन्दै दुई लाख माग गरेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीले सोधपुछका लागि बोलाएको थियो । ती व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने भनी रकम माग गरेको र होटेलको खर्च तिर्न लगाएकोमा उक्त रकम तिर्न इन्कार गर्दा फोन तथा म्यासेजमा विभिन्न किसिमका धम्की दिई मानसिक र आर्थिक तनाव दिएको प्रहरीले जनाएको छ ।

सूचना पाउनेवित्तिकै तत्काल प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका –९, वीरेन्द्र चोकबाट पाँच जनालाई फेला पारी नियन्त्रणमा लिएर अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा ओखलढुड्गाको मोलुड गाउँपालिका–२ घर भई काठमाडौंको चाबहिल बस्ने वर्ष ३४ को टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका – १ घर भई काठमाडौंको कपन बस्ने वर्ष २९ को इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका – ६ घर भई काठमाडौंको हात्तीडाँडा बस्ने वर्ष ३३ को धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका –५ घर भई भक्तपुरको दुवाकोट बस्ने वर्ष २५ को खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका – २ घर भई काभ्रेपलाञ्चोकको बनेपा बस्ने वर्ष ३० को हर्कसिंह भोलन रहेको काठमाडौं प्रहरीका एसपी दानबहादुर थापाले जनाएका छन् ।