२०८३ मंसिर १२ , शुक्रवार

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने तयारी

1783754157_NAR 27-1200×560

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएको भन्दै प्रभावित परिवारले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

विशेषगरी भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा रहेका परिवारलाई त्यहाँबाट हट्न दबाब दिएपछि उनीहरूको बसोबासको समस्या थप जटिल बनेको छ । विस्थापित परिवारले वैकल्पिक आवास सुनिश्चित नगरी होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । गत वैशाख १२ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न नदीकिनार तथा सार्वजनिक जग्गामा रहेका बस्ती हटाउने अभियानका क्रममा विस्थापित भएका परिवारलाई सरकारले विभिन्न अस्थायी होल्डिङ सेन्टरमा राखेको थियो । तर, सात महिना बितिसक्दा पनि धेरै परिवारको स्थायी पुनर्वास हुन सकेको छैन ।

बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेका परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न लिखित सूचना दिएको छ । यसअघि मंसिर ४ गतेदेखि नै मौखिक रूपमा स्थान खाली गर्न भनिएको थियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार बोडेमा रहेका १९ परिवारका ५६ जनामध्ये १२ परिवारको नाममा हालसम्म जग्गा नभएको पाइएको छ भने सात परिवारको हकमा तीन पुस्ताभित्र जग्गा रहेको वा जग्गा कारोबार गरेको विवरण भेटिएको छ । प्रशासनले भूमिहीन ठहरिएका १२ परिवारका लागि उनीहरूको स्थायी ठेगाना रहेको जिल्लामार्फत जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार भूमिहीन परिवारलाई एक महिनाको घरभाडाबापत १५ हजार रुपैयाँ उपलब्ध गराउने र यसअघि पुनर्वास व्यवस्थापनका लागि दिने भनिएको २५ हजार रुपैयाँसमेत उपलब्ध गराउने भनिएको थियो । तर प्रभावित परिवारले रकम उपलब्ध गराउँदैमा दीर्घकालीन आवासको समस्या समाधान नहुने बताउँदै आएका छन् । काठमाडौँ महानगरपालिका र आसपासका नदीकिनारका बस्तीबाट विस्थापित परिवारको अवस्था झन् दयनीय बनेको छ । हाल इचंगुनारायण, खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा ९६ परिवारका ३८८ सदस्य सम्पर्कमा रहेका छन् । तीमध्ये इचंगुनारायणमा ४५, खरिपाटीमा ३२ र बोडेमा १९ परिवार छन् । सुरुमा २ हजार ६०८ परिवारका ११ हजार १०५ जनाको लगत संकलन गरिएकोमा डिजिटल सर्वेक्षणबाट २ हजार ८२ परिवारको मात्रै विवरण संकलन भएको थियो ।

होल्डिङ सेन्टरमा बसिरहेका परिवारमध्ये ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी तथा बालबालिकासमेत छन् । पर्याप्त खाना, स्वास्थ्य उपचार, यातायात र सरसफाइको समस्या रहेको उनीहरूको गुनासो छ । कतिपय बिरामीले अस्पतालसम्म पुग्न यातायात खर्चसमेत जुटाउन सकेको छैनन् । पटकपटक स्थानान्तरण गरिँदा बालबालिकाको पढाइ, बिरामीको उपचार र आवश्यक कागजात बनाउने कामसमेत प्रभावित भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले यसअघि नै वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने कार्यले उनीहरूको आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको अधिकार प्रभावित हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । आयोगले सम्बन्धित निकायलाई वैकल्पिक बसोबास सुनिश्चित नगरी परिवारलाई हटाउने कार्य नगर्न आग्रह गरेको थियो ।नेपालको संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको छ ।त्यस्तै, आवासको अधिकारसम्बन्धी ऐन, २०७५ ले आवासबाट हटाउने प्रक्रियामा सम्बन्धित नागरिकसँग परामर्श गर्नुपर्ने, पर्याप्त कारणसहित सूचना दिनुपर्ने र ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा गर्भवती महिलाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने व्यवस्था गरेको छ ।