
सुनाखरी न्युज/ काठमाडौं ।
भगवान रामको नगरी भारतको अयोध्याबाट प्रस्थान गरेको सरयुग–कमला एक्सप्रेस रेल आज माता सीताको नगरी जनकपुरधाम आइपुगेको छ । सोमबार दिउँसो अयोध्याबाट हिँडेको रेल जनकपुरधाम आइपुग्दा स्थानीयवासी, सरकारी प्रतिनिधि तथा सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा फहराउँदै भव्य स्वागत गरेका छन्।
स्वागतका लागि रेल्वे स्टेशन पुगेका स्थानीयले तीर्थयात्रीलाई फूलमाला लगाएर अभिनन्दनसमेत गरेका थिए। धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित सुरु गरिएको जनकपुरधाम–अयोध्या रेल सेवाको पहिलो यात्राले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ आयाम दिएको छ।
राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका थिए। त्यसपछि अयोध्याबाट जनकपुरधामका लागि छुटेको सरयू कमला एक्सप्रेसमा १७ वटा डब्बा रहेका छन्।
अयोध्या भगवान् रामको जन्मभूमि तथा जानकीको ससुराली हो भने जनकपुरधाम जानकीको माइती र रामको ससुरालीका रूपमा परिचित छ।अतिथिको स्वागतमा बटुकहरूले स्वस्तिवाचन गर्नुका साथै धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । जनकपुरधाम रेलवे स्टेसन परिसरमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले अतिथिलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत जनकपुरधामका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गराउने कार्यक्रम रहेको बताए । उनका अनुसार रेल जनकपुरधाम रेलवे स्टेसनमा करिब तीन घण्टा रोकिनेछ । त्यसपछि अतिथिसहितको रेल पुनः भारतको अयोध्याका लागि प्रस्थान गर्नेछ ।