२०८३ बैशाख १६ , बुधवार

सार्वजनिक सवारीसाधनमा अनिवार्य जीपीएसदेखि सीसीटीभी जडान गरिने

buses

सुनाखरी नयुज/ काठमाडौं ।
सार्वजनिक सवारीधनीले आफ्नो सवारीसाधनमा अनिवार्य जीपीएस प्रणाली उपकरण जडान गर्नुपर्ने मस्यौदामा प्रस्ताव गरिएको छ ।

यातायात व्यवस्था विभागले ‘सार्वजनिक सवारीसाधनलाई प्रविधि जडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउनेसम्बन्धी निर्देशिका, २०८२’ को मस्यौदा तयार पारेको छ ।

पछिल्लो समय सार्वजनिक यातायातमा यात्रुले खेप्नुपरेको सास्तीलाई मध्यनजर गर्दै जीपीएसदेखि सीसीटीभी जडान अनिवार्य गर्ने गरी निर्देशिका ल्याउन लागिएको हो । विभागले निर्देशिकाको मस्यौदा तयार पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ ।

‘यो उपकरण जडान गर्न यातायात व्यवस्था विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ,’ मस्यौदामा भनिएको छ, ‘उपकरणको व्यवस्थित सञ्चालन तथा निगरानीका लागि विभागले नियन्त्रण केन्द्रसहितको प्रणाली तयार गर्नुपर्नेछ ।’ जडान गरिने उपकरण चुस्त र दुरुस्त राख्ने दायित्व सवारी चालक, परिचालक तथा सवारीधनीको हुनेछ । जडित उपकरणको अवस्था के कस्तो छ भनेर जाँच गर्ने जिम्मेवारी विभागको हुनेछ ।

सबै सार्वजनिक सवारीसाधनमा दुई वा सो भन्दा बढी सीसीटीभी अनिवार्य रूपमा जडान गर्नुपर्ने र जडान गर्ने दायित्व सम्बन्धित सवारीधनीको हुने मस्यौदामा उल्लेख छ । ‘तर ट्याक्सीको हकमा सीसीटीभी अनिवार्य छैन,’ मस्यौदामा भनिएको छ, ‘सीसीटीभी जडानका लागि सवारीधनीले माग गरेमा विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।’ सवारीसाधनमा जडित सीसीटीभीको तथ्यांक कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नुपर्ने दायित्व सवारी व्यवस्थापक, त्यसको धनी र चालकको हुने जनाइएको छ ।