२०८३ मंसिर १४ , आइतवार

एमसीसीअन्तर्गतका आयोजनाको म्याद एक वर्ष थप्ने निर्णय

cabinet-new- 6-2

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गतका आयोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने निर्णय सरकारले गरेको छ ।

मन्त्रीपरिषद्को  केही साताअघि बसेको  बैठकले नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संयुक्त लगानीमा सञ्चालित आयोजनासहित विभिन्न परियोजनाको म्याद थप्ने विषयमा निर्णय गर्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको थियो। तर, सरकारका प्रवक्ताले सार्वजनिक गरेको ब्रिफिङमा यसबारे जानकारी दिइएको थिएन।

‘आयोजनाको अवधि एक वर्ष थप्ने निर्णयबारे एमसीसीलाई जानकारी गराउने जिम्मेवारी मन्त्रीपरिषद्ले अर्थ मन्त्रालयलाई दिइसकेको छ,’ एक मन्त्रीले भने, ‘यसका लागि थप खर्च लाग्ने छैन। आयोजनाको प्रभावकारी कार्यान्वयन अवधि पाँच वर्ष नै कायम रहनेछ।’

अमेरिकी अनुदानमा सञ्चालित आयोजनाको म्याद थप्न एमसीए–नेपालले पहल गरेको थियो। उसले गत मे महिनाको मध्यतिर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्दै ७४ करोड ७० लाख अमेरिकी डलरको कम्प्याक्ट सम्झौताको अवधि थप्न नेपाल सरकारका तर्फबाट एमसीसीलाई औपचारिक पत्राचार गर्न आग्रह गरेको थियो।

एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण र पूर्व–पश्चिम महेन्द्र राजमार्गको एक खण्ड स्तरोन्नति गर्ने आयोजना छन्।