२०८२ फाल्गुन २२ , शुक्रवार

विश्वभर युट्युब डाउन, नेपालमा थाल्यो चल्न

Youtube-900px

सुनाखरी न्युज/ काठमाडौं ।

विश्वकै लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब सेवा नेपालसहित विश्वभर अवरुद्ध भएको छ । यसबाट लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन् ।

नेपालमा केहीबेर अवरुद्ध भएको युट्युब अहिले चलिरहेको छ । कतिपय ठाउँमा भने अझै राम्रोसँग युट्युब चलेको छैन ।

आज बिहानको पछिल्लो अपडेट अनुसार अमेरिका, बेलायत र युरोपेली देशहरूमा अझै पनि हजारौं प्रयोगकर्ताहरूले समस्या झेलिरहेका ‘डाउन डिटेक्टर’ले जनाएको छ । केही घण्टामा अमेरिकामा मात्र ३ लाख २० हजारभन्दा बढी नयाँ गुनासा दर्ता भएका छन् र ती युट्युब अवरुद्धसँग सम्बन्धित छन् ।

 

रोचक कुरा के छ भने, युट्युबको होमपेज र सिफारिस गरिएका भिडियोहरू नचले पनि सीधा लिंक वा ‘सब्स्क्रिप्सन’ ट्याबबाट कतिपय भिडियोहरू हेर्न सकिएको छ । तर, युट्युबको मुख्य अल्गोरिदम र ‘होम स्क्रिन’ धेरै देशमा अझै ठप्प छ ।

अनलाइन आउटेज र्ट्याकिङ वेबसाइट ‘डाउनडिटेक्टर’का अनुसार, मंगलबार रातिदेखि समस्या सुरु भएको केही समयभित्रै २ लाख ८० हजारभन्दा बढी प्रयोगकर्ताले युट्युब नचलेको उजुरी दर्ता गराएका थिए ।

 

मुख्यगरी युट्युबको मोबाइल एपमा समस्या देखिएको भए पनि धेरैले डेस्कटप वेबसाइटमा समेत अवरोध झेल्नुपरेको बताएका छन् । यसैगरी, युट्युबको प्रिमियम सेवा ‘युट्युब टिभी’ मा पनि ७ हजारभन्दा बढी गुनासा परेका छन् ।

अमेरिकाको न्युयोर्क, वासिङ्टन, सिकागो र लस एन्जलस जस्ता मुख्य सहरहरूमा यसको प्रभाव सबैभन्दा बढी देखिएको छ ।