२०८२ फाल्गुन २२ , शुक्रवार

‘तथाकथित पत्रकारिता मुख्य चुनौती हो’

patrakarita

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसङ्गतिका कारण पत्रकारितामाथिको विश्वसनीयता घट्दै गएको सरोकार भएकाहरूको भनाइ छ । नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयाजित ‘लोकतन्त्रको सुदृढीकरणः नागरिक सरोकार, संलग्नता र जवाफदेहिता’ विषयक कार्यशाला गोष्ठीमा वरिष्ठ पत्रकार एवं महासङ्घका पूर्वअध्यक्षहरूले पत्रकारितामाथिको गुम्दो जनविश्वास बढाउन जिम्मेवार भई पत्रकारिता गर्न सुझाव दिनुभयो । ‘डिजिटल मिडिया’, सङ्कुचित बन्दै गएको बजार र राजनीतिक दलको प्रभावले पत्रकारिताको विश्वसनीयता घट्दै गएको उहाँहरूको बुझाइ छ । पूर्वअध्यक्षहरू किशोर नेपाल, डा तारानाथ दाहाल, विष्णु निष्ठुरी र वर्तमान अध्यक्ष निर्मला शर्माले पत्रकारिताको विश्वसनीयतामा बहस गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचनाका माध्यम र पत्रकारितालाई फरक फरक रूपमा बुझ्न सके विश्वसनीयता कायम राख्न मद्दत पुग्ने धारणा राख्नुभयो । “हाल तथाकथित पत्रकारिता, तथाकथित नागरिक पत्रकारिता र भ्रामक सूचनाको चुनौती छ”, उहाँले भन्नुभयो, “हाम्रा धेरै पत्रकार साथीहरू ‘पोडकास्ट’मा जोडिन थाल्नुभएको छ, तर पत्रकारिता गर्दाको नैतिकतालाई बिर्सेर सञ्चालन गर्दा त्यसको नकारात्मक प्रभाव देखिन थालेका छन् ।”

महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका डा आचार्यले पत्रकारिताका सिद्धान्त र आचारसंहिता सामाजिक सञ्जालमा अभ्यास नहुने भन्दै त्यसले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता घटेको जिकिर गर्नुभयो । महासङ्घका पूर्वअध्यक्ष नेपालले पत्रकारहरू राजनीतिक दल एवं नेताको प्रभाव र दबाबमा पर्ने गरेको गुनासो गर्नुभयो । पत्रकार अध्ययनशील बन्नुपर्ने र निष्पक्ष पत्रकारिताको अभ्यासबाट जनविश्वास बचाउन सकिने उहाँको भनाइ थियो । “पत्रकार नेतामुखी भयौँ । अचेल दलका नेताहरूले हाम्रा नेता चुन्ने र प्रभावमा राख्ने अभ्यास देखिन्छ”, वरिष्ठ पत्रकार नेपालले भन्नुभयो, “स्वतन्त्र पत्रकारिताको नारा बोकेर दलको निर्देशन मान्ने भएपछि हामी कसरी आत्मनिर्भर, स्वतन्त्र र बलियो पत्रकारिता गर्न सक्छौ ?” महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार दाहालले पत्रकारिता र राजनीतिलाई छुट्याउन नसक्नु पत्रकारितामा आएको सङ्कटको मुख्य कारण भएकाृ बताउनुभयो । उहाँले पछिल्लो समय ‘कर्पोरेट’ पत्रकारिता बढ्नु विचारणीय भएको भन्दै अब प्रविधिको प्रयोगलाई अवसरका रूपमा लिनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

“पत्रकारिताको विश्वसनीयता र अर्थतन्त्र नै सङ्कटमा छ । व्यापारिक पक्षबारे मात्र लेख्ने प्रचलन साह्रै बढेको छ, यो विचारणीय कुरा हो”, दाहालले भन्नुभयो, “विश्वसनीयताबारे प्रश्न उठाउने माध्यमहरू यति धेरै भए कि कुन पत्रकारिताका माध्यम हुन् वा कुन हैनन् भन्ने नै छुट्याउन गाह्रो भएको छ । यस्तो समयमा सूचनाको उत्पादन र वितरणको चित्र नै परिवर्तन हुँदै गएको छ ।” पूर्वअध्यक्ष निष्ठुरीले पत्रकारितमाथिको जनविश्वासलाई बचाइराख्न निष्पक्ष पत्रकारिता नै पहिलो सर्त भएको धारणा राख्नुभयो । “पत्रकारितालाई जनताले पत्याउन छाडे । त्यसको पहिलो कारण हामी सबै सत्तारूढ भयाँै । दल र सरकारको सत्तारूढ सदस्य भयौँ”, उहाँले भन्नुभयो, “यस्तै, हाम्रा धेरै साथीहरू प्रेस सल्लाहाकार भएका छन् । पत्रकारिता दल र सत्तामा रमाइरहेको छ ।” महासङ्घका अध्यक्ष शर्माले जिम्मेवारपूर्वक पत्रकारिता गर्न आह्वान गर्नुभयो । “पत्रकारिताको विश्वसनीयतामाथि इतिहासमा नै यति ठूलो प्रश्न पहिलोे पटक अनुभव गरेको छु”, उहाँले भन्नुभयो, “समाचारका हेडलाइनमात्र खोजिरहेका छौँ । विश्वसनीयता घट्दो छ । खोजी समाचार पनि एकदुई महिनासम्म मात्र टिक्छ । गुम्दो विश्वसनीयतालाई कसरी बचाउने यसमा बहस आवश्यक छ ।”
रासस