२०८३ आश्विन २९ , बिहिवार

दुई महिनामै १० अर्बको मोबाइल फाेन भित्रियाे

welcome__n6xy87ib1gyu_large

 

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो समय स्मार्टफोन नेपालीको दैनिक जीवनसँगै चाडपर्वको किनमेलको महत्वपूर्ण हिस्सा बन्न थालेको छ ।आफन्त तथा साथीभाइलाई उपहार दिनेदेखि नयाँ प्रविधि प्रयोग गर्ने चाहनासम्मले चाडपर्वको समयमा स्मार्टफोनको बजारमा चहलपहल बढ्ने गर्छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८३/ ८४ को पहिलो दुई महिनामा नेपालले चार लाख ३५ हजार ४० वटा स्मार्टफोन आयात गरेको छ। ती फोनको कुल मूल्य नौ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। यसबाट सरकारले एक अर्ब ८१ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।

आर्थिक वर्ष २०८२/ ८३ को सोही अवधिमा नेपालले पाँच लाख आठ हजार ६ सय ९३ वटा स्मार्टफोन आयात गरेको थियो। ती स्मार्टफोनको कुल मूल्य आठ अर्ब ८७ करोड रुपैयाँ थियो। आयातको परिमाण घटे पनि मूल्य बढ्नुको मुख्य कारण आयातित स्मार्टफोनको औसत मूल्यमा भएको तीव्र वृद्धि हो।

आर्थिक वर्ष २०८२ / ८३ को पहिलो दुई महिनामा एउटा स्मार्टफोनको औसत आयात मूल्य करिब १७ हजार चार सय ४३ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २२ हजार तीन सय ८९ रुपैयाँ पुगेको छ। अर्थात् औसत मूल्य करिब २८ . ३ प्रतिशतले बढेको छ।