
सुनाखरी न्युज/ काठमाडौं ।
अब सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा आज बसेको विषयगत समितिको बैठकले यो निर्णय गरेको हो।
बैठकले २०८२ असोज १ गतेदेखि सबै प्रकारका सवारी दर्ता, नामसारी तथा नवीकरणका प्रक्रियामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य बनाउने निर्णय गरेको छ। बैठकमा सातै प्रदेशका यातायातमन्त्री, सचिव, संघीय मन्त्रालयका अधिकारी तथा सरोकारवालाहरूको सहभागिता थियो।यो निर्णय सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयमार्फत कार्यान्वयनमा ल्याइने छ।
इम्बोस्ड नम्बर प्लेटको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग विभागले उपलब्ध गराउनेछ भने गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी पनि परिचालन गरिनेछ। सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत जेठ ९ गते सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।
पहिलो चरणको छपाइ २०८२ असार मसान्तभित्र सुरु गर्ने लक्ष्य लिइए पनि अब आगामी भदौ मसान्तभित्र छपाइ सुरु गर्न केन्द्रलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेकाले सुरक्षण मुद्रण केन्द्रलाई छपाइ कार्य शीघ्र सुरु गर्न अनुमति दिन आग्रह गरिनेछ।