२०८१ बैशाख १७ , सोमवार

‘दूरसञ्चार क्षेत्रको विकासमा भरपर्दो नीतिगत र कानुनी प्रबन्ध आवश्यक’

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।

दूरसञ्चार क्षेत्रलाई विकासको मेरुदण्डका रुपमा अघि बढाउन सरकार, सेवा प्रदायक र सरोकारवाला निकायको समन्वयमा भरपर्दो नीतिगत तथा कानुनी प्रबन्ध गरिनुपर्नेमा जोड दिइएको छ ।

प्रविधि पत्रकार मञ्च (टिजेएफ)ले आज यहाँ आयोजना गरेको ‘नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ विषयको अन्तरक्रियामा सहभागीले दूरसञ्चार क्षेत्रका विकासका लागि विशेष योजना ल्याइनुपर्नेमा सरकारको ध्यानकर्षण गराउनुभयो ।पछिल्ला समय दूरसञ्चार सेवाको आम्दानी र राजस्व घटिरहेको अवस्थालाई सरोकारवालाले गम्भीर रुपमा लिनुपर्नेमा जोड दिँदै उहाँहरुले दूरसञ्चार क्षेत्रमा लगानीको उपयुक्त वातावरण निर्माण गरिनुपर्ने बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले गुणस्तरीय सेवा उपलब्ध गराएर सेवा प्रदायकले आम्दानी गर्नेतर्फ ध्यान दिनु आवश्यक हुने बताउनुभयो । राज्यले डिजिटल पूर्वाधारमा लागनी बढाउनुपर्ने र निजी क्षेत्रले सेवा प्रवाहलाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आगामी महिना हुने लगानी सम्मेलनमा सूचना प्रविधिका विशेष परियोजना ‘शो केस’मा राख्ने तयारी गरिएको बताउनुभयो ।

नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले दूरसञ्चार क्षेत्रका चुनौतीलाई समाधान गर्न सरकार र नियामक निकायले ध्यान दिनुपर्ने बताउनुभयो । टेलिकम क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाको पक्षमा नेपाल टेलिकम रहेको उल्लेख गर्दै उहाँले टेलिकमले सहरी क्षेत्र मात्र नभई ग्रामीण भेकमा पनि दूरसञ्चार सेवा दिन क्रियाशील रहेको बताउनुभयो ।

निजी क्षेत्रको सेवा प्रदायक एनसेलका कानुनी सल्लाहकार विशाल उपाध्यायले दूरसञ्चार क्षेत्रमा लगानी बढाउनका लागि आर्थिक खुकुलोपनको व्यवस्था गर्न तथा लगानीको वातावरण बनाउन सुझाव दिनुभयो । दूरसञ्चार क्षेत्रलाई विविधकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले यससँग सम्बन्धित कानुनलाई समयानुकूल बनाइनुपर्ने बताउनुभयो ।  रासस