२०८१ बैशाख १५ , शनिवार

नेपाल टेलिकमद्वारा ३४ विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा

Capture

सुनखरी न्युज/ काठमाडौं ।
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच २०८० फागुन ११ गते सहमति भएको छ ।

सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गर्नुभएको छ ।सहमतिपत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्ने कम्पनीले जनाए ।

त्यसैगरी विमानस्थल भित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।

फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडानगर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनकालागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने जनाए ।

यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । ।यसबाट यात्रु महानुभावहरुले लाभ लिनु हुने अपेक्षा कम्पनीको रहेको छ ।