२०८१ बैशाख १५ , शनिवार

सरकारी सञ्चारमाध्यम जनउत्तरदायी हुनुपर्छ : मन्त्री शर्मा

Rekha-Sharma

सुनाखरी न्युज/ काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सरकारले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको बताउनुभएको छ ।

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ सम्बन्धी बैठकमा मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमले स्वतन्त्र ढङ्गले जनता र सरकारबीचको पुलको काम गर्नुपर्ने धारणासहित प्रस्तावित विधेयक ल्याइएको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, “विगतमा सरकारी सञ्चारमाध्यम भनेपछि सरकारमुखी हुने, जनतामुखी नभएको हो कि भन्ने बुझाइ थियो, हामीले पटकपटक भनेका छौँ सरकारी सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छ । सरकार र जनताकाबीच यी माध्यमले पुलका रुपमा काम गर्नुपर्छ भन्ने अवधारणा विधेयकमा समावेश गरिएको छ ।” उहाँले विधेयकमाथिको संशोधनका क्रममा समसामयिक, प्रविधिमैत्री एवं थप समृद्ध बनाउन समितिबाट सुझाव आउने अपेक्षा गरिएको बताउनुभयो । “विशेषगरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने भन्ने हो, यो केवल गाभ्ने मात्रै हैन, त्यसलाई अझै उन्नतस्तरको ‘मिडिया’ बनाएर सरकारी मिडियाप्रतिको बुझाइ चिरेर जनउत्तरदायी बनाउने उद्देश्यले विधेयक ल्याइएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले सङ्घीय संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएकाले यही अधिवेशनमा उक्त विधेयक पेस गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।सार्वजनिक सेवा प्रसारणसम्बन्धी सेवालाई संशोधन र एकीकरण गर्न बनेको सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । राष्ट्रिय आमसञ्चार नीति, २०७३ मा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणको रुपमा रुपान्तरण गरी लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात् गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायीरुपमा सञ्चालन गरिने व्यवस्था छ ।

वर्तमान व्यवस्थामा रेडियो नेपाल र नेपाल टेलिभिजन छुट्टाछुट्टैरुपमा सञ्चालन भइरहेका सन्दर्भमा यी दुवै संस्थालाई सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण गर्दा एउटा सुदृढ, सबल र सशक्त सार्वजनिक सेवा प्रसारणको स्थापना भई सार्वजनिक प्रसारणका माध्यमबाट नागरिकलाई सुसूचित गराउन सकिने र यसका लागि कानुन निर्माण गर्न आवश्यक भएकाले विधेयक पेस गरिएको जनाइएको छ ।
उक्त विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस भएर दफाबार छलफलका लागि शिक्षा समितिमा आएको हो । विधेयकमा नौ सांसदको ७६ स्थानमा संशोधन परेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।

विधेयकमाथि संशोधन राख्ने सांसदहरुले सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र, व्यावसायिक र जनउत्तरदायी बनाइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।सांसद प्रदीप पौडेलले सार्वजनिक सञ्चारमाध्यमलाई समयसापेक्ष प्रतिस्पर्धी र जनउत्तरदायी बनाउन तथा नयाँ मिडियालाई पनि सम्बोधन गर्नेगरी विधेयक ल्याइनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद महेशकुमार बर्तौलाले सरकारी सञ्चारमाध्यमलाई एउटै कानुनको छातामुनि राख्नेगरी कानुन बनाइनुपर्ने धारणा राख्नुभयो । सांसद रघुजी पन्तले नयाँ मिडियाको प्रभावकारितालाई ध्यान दिएर समयसापेक्ष कानुन बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

सांसद चन्द्र भण्डारीले सरकारी सञ्चारमाध्यमको नेतृत्व कस्तो बनाउनेभन्नेबारे कानुनमै व्यवस्था हुनुपर्ने बताउनुभयो । सांसद माधव सापकोटाले विधेयकले सङ्घीय अनुकूलको संरचनालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।सांसद देवेन्द्र पौडेलले समितिमा आएका सबै विधेयकलाई तालिका बनाएर पारित गरिनुपर्ने सुझाव दिनुभयो । सांसद सुनिता बरालले सरकारी सञ्चारमाध्यमलाई अझ व्यावसायिक बनाउनेगरी कानुन बनाउनुपर्ने बताउनुभयो । सांसदहरु सुमना श्रेष्ठ, तोसिमा कार्की, प्रेम सुवाल, नारायणी शर्मा, दीपा शर्मालगायत विधायकले सार्वजनिक सञ्चारमाध्यमलाई जनउत्तरदायी बनाइनुपर्नेमा जोड दिनुभयो ।

समितिका सभापति भानुभक्त जोशीले समितिमा आएका विधेयकलाई चाँडो पारित गर्न सबैको सक्रियता चाहिने बताउनुभयो । विधेयकमाथिको संशोधनकर्ताको धारणापछि भोलि मङ्गलबारको बैठकबाट दफाबार छलफल अगाडि बढाइने बताउनुभयो ।
समितिका सदस्यको धारणा सुनेपछि सञ्चारमन्त्री शर्माले प्रविधिमा आएको परिवर्तनलाई विधेयकले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयसँग सम्बन्धित विधेयकलाई थप समृद्ध बनाउन मन्त्रालयले विज्ञ सरोकारवालासँग भिन्नभिन्न समिति बनाएर सुझाव लिएको जानकारी दिनुभयो ।  रासस