२०८१ बैशाख १७ , सोमवार

विद्युत जोडिएपछि फोन गर्न सहज

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ ।

माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन टावर सञ्चालन हुने गरेका छन् । हातमा स्मार्ट मोवाइल सेट भए पनि नेटवर्क नै नहँुदा खबर आदानप्रदान निकै समस्या हुने गरेको छ । यस्तै समस्या झेल्दै आइएकामा अहिले उक्त टावरमा विद्युत जोडिए पछि जुनसुकै बेला पनि टेलिफोन सेवा सञ्चालन हुने गरेको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिनुभयो ।

यसअघि त्यो टावरमा सोलार प्रणाली जडान हुँदा विहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो । वडाध्यक्ष रोकायाले भन्नुभयो,“टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुन टावरमै विद्युत लाइन पु¥याइएपछि सहज भएको छ । अब गाउँमा २४ सै घण्टा टेलिफोन सेवा सञ्चालन हुनेछ । ”

समुन्द्र सतहबाट दुई हजार ८५० मिटर उचाईको हाँकुलाग्ना टावरमा गिडीखोलाको जाल्पादेवी विद्युत आयोजनाबाट विद्युत लाइन पु¥याएपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमवाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायावाडालगायत गाउँमा राति पनि नेटवर्क आउने गरेको स्थानीयवासी प्रेमराज पाण्डेले जानकारी दिनुभयो ।

रु १५ लाखको लागतमा हाँकुलाग्ना टावरमा विद्युतको लाइन पुगेपछि धेरै गाउँ बस्तीका नागरिकलाई टेलिफोन पहुँच पुगेको छ। वडा कार्यालयको रु छ लाख र सुर्खेतस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको रु नौ लाख ९६ हजार गरी कुल रु १५ लाख ९६ हजारमा टावरमा विद्युत लाइन पु¥याइएको हो । उक्त टावरमा समेत फोरजी इन्टरनेट सेवा जडान गरिएको वडाध्यक्ष रोकायाले बताउनुभयो ।   रासस