२०८१ बैशाख १७ , सोमवार

टिकटक खुल्न सक्ने प्रधानमन्त्रीको संकेत, यस्तो हुँदै छ तयारी !

tiktok

सुनाखरी न्युज/ काठमाडौं ।
टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीमा  प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् । उनका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले पनि आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको र नियमनमा आउन तयार भएकाले यसमाथिको प्रतिबन्ध खुल्न सक्ने आधार रहेको प्रस्ट्याए ।

यसैबीच टिकटकमाथिको प्रतिबन्धका विषयमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले समेत प्रधानमन्त्री दाहालसँगको भेटमा चासो राखेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयमा हाल १५ सदस्यीय समितिले विभिन्न सामाजिक सञ्जाल माथि अध्ययन गरिरहेको रायमाझीले बताए । डेढ महिनाभित्र समितिले प्रधामन्त्रीलाई प्रतिवेदन बुझाउने उनी बताउँछन् ।

समिति सदस्य र गरिएको अध्ययनबारे भने उनले स्पष्ट खुलाउन चाहेनन् । नियमनकारी निकायलाई बाहिरै राखेर प्रधानमन्त्रीको कार्यालय आफैंले यस्ता विषयमा अति सक्रियता बढाएको अवस्थालाई कतिपय जानकारले भने अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।