२०८१ बैशाख २७ , बिहिवार

‘सामाजिक सञ्जालका सबै विषय समाचार होइनन्’

Sunakhari5
सुनाखरी न्युज/ काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिष्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई सुझाव दिनुभएको छ ।
व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएको तर्फ सञ्चार माध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उहाँको भनाइ छ ।
“कोही पनि भ्रममा नपरौँ । सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन् । तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुक्याइरहेका छन् । सञ्चार माध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ” अध्यक्ष बस्नेतले नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकलाई काउन्सिलमा आज दिइएको अभिमुखीकरणका क्रममा भन्नुभयो ।
उहाँले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगत्मै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गर्दै आएकोसमेत बताउनुभयो ।
अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाहरूमा केन्द्रित रही प्रस्तुति राखिएको थियो । डिजिटल मिडियाले ल्याएको चुनौती र सञ्चार माध्यमले ध्यान पु¥याउनुपर्ने विषयबारे काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राईले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न ३२ सञ्चार माध्यमका सञ्चालक÷सम्पादकको सहभागिता थियो । रासस