२०८१ बैशाख १५ , शनिवार

 पत्रकारिताले आफ्नो धर्म छाड्नु हुँदैन : अध्यक्ष बस्नेत

सुनाखरी न्युज/ काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज र जनताप्रति पत्रकारिताको ठूलो दायित्व हुने भएकाले आफ्नो धर्म छाड्न नहुने धारणा राख्नुभएको छ ।
नेपाल प्रेस काउन्सिलले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता कार्यान्वयनको २८औँ शृङ्खलामा अध्यक्ष बस्नेतले समाजप्रति जिम्मेवारी निर्वाह गर्दै पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले राज्य र अन्य निकायले नसुनेका समस्या सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
“सरकार र विभिन्न क्षेत्रले नसुनेका कुराहरु सञ्चारमाध्यममा आइदिए हुने थियो भन्ने धेरैको चाहना हुन्छ, सत्य कुरा बाहिर ल्याउनका लागि सञ्चारमाध्यमको भर परेका हुन्छन्”, उहाँले भन्नुभयो, “पत्रकारिताले आफ्नो धर्म छाड्ने र आचारसंहिताको पालना नगर्ने हो भने समाज र जनताले गरेको विश्वासप्रति ठूलो धोका हुन्छ ।”
छापा सञ्चारमाध्यमलाई परिष्कृत गर्दै डिजिटल माध्यमलाई समृद्ध बनाउने अवस्थामा आइपुगेको हुनाले अनलाइन पत्रकारितालाई स्वागत गर्नुपर्ने समय भएको उहाँले उल्लेख गर्नुभयो । “डिजिटल मिडियाको विकल्प छैन, पत्रकार को हो ? भन्ने समाजमा प्रश्न उठिरहेको छ”, उहााले भन्नुभयो, “युट्युवलगायतका सामाजिक सञ्जालका कारणले पत्रकार को हो भनेर प्रष्ट पार्न जरुरी देखिएको छ, त्यसबारेका काउन्सिलले गृहकार्य गरिरहेको छ ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र हो भन्ने भाष्य स्थापना गर्न जरुरी भएको बताउनुभएको छ । “अन्य क्षेत्रमा पनि श्रमको उचित मूल्य पाएका छैनन्, तर त्यो आवाज उठाउने सञ्चार क्षेत्रमा श्रमको शोषण हुनु हुँदैन”, उहाँले भन्नुभयो, “अरूका लागि पनि आवाज उठाउने सञ्चार क्षेत्रमै समस्या भयो भने कसरी आवाज उठाउन सकिन्छ ?”
पत्रकारिताप्रतिको जनविश्वास अझ बढाउने गरी काम गर्नका लागि सञ्चारगृह सञ्चालकलाई आग्रह गर्दै उहाँले पत्रकारिताको स्तर खस्किन नदिने गरी काम गर्नुपर्ने र त्यसका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
सञ्चार संस्था सञ्चालन गर्दा श्रमको सम्मान गर्दे आर्थिकरुपमा सक्षम भएर मात्र सञ्चारमाध्यम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै श्रमिकले काम गरेबापत पैसा लिन अदालतमा मुद्दा हाल्न जानुपर्ने अवस्था सही नभएको उहाँको भनाइ छ ।
“मिडियामा काम गर्ने अनि पैसा लिन अदालतमा गएर मुद्दा हाल्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “अदालतले आदेश दिँदा पनि श्रमजीवि पत्रकारले पैसा नपाएको अवस्था देखिएको छ ।” उहाँले श्रमिक र सञ्चालकबीच न्यायिक सम्बन्ध हुनुपर्नेमा जोड दिँदै त्यो भनेको श्रमको सम्मान भएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय तारानाथ दाहाल र डा महेन्द्र विष्टले पनि पत्रकारले आचारसंहिताको प्रभावकारी कार्यावन्यन गर्नुपर्ने विषयमा आ-आफ्नो प्रस्तुति दिनुभयो ।
काउन्सिलले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पालना गराउने उद्देश्य आज ४६ वटा अनलाइनका प्रकाशक र सम्पादकलाई अभिमुखीकरण गराएको छ । काउन्सिलले हालसम्म आठ सय ७६ अनलाइनलाई पत्रकार आचारसंहिताको कार्यान्वयन र पालनाका लागि अभिमुखीकरण गराइसकेको आचारसंहिता अनुगमन महाशाखाका प्रमुख रामशरण बोहराले जानकारी दिनुभयो । रासस