२०८३ श्रावण १९ , मंगलबार

घार्मीमा सकारात्मक सोच सम्बन्धि तालिम सम्पन्न

शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा सकारात्मक सोच तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ।

गायत्री बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा २ दिनसम्म संचालन भएको तालिममा साविकको लामाचौर गाविस वडा नं ७; ८ र ९ नम्बर वडाका विभिन्न ७ वटा आमा समुहका ४० जना महिलाको सहभागिता रहेको थियो। तालिममा वरिष्ठ पत्रकार पुण्य पौडेल र पत्रकार तथा सामाजिक अभियन्ता सुष्मा पौडेलले सहजीकरण गर्नुभएको थियो। तालिम समापनको अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं १९ का अध्यक्ष पुष्पेन्द् पाण्डेले सिक्ने र सिकाउने कार्य जिवनभर निरन्तर रूपमा चलिरहने बताउँदै, सिकेका कुरा व्यवहारमा उतार्न सुझाव दिनुभयो।

 

पुर्व वडा अध्यक्ष शोभामोहन पौडेलले तालिमले ग्रामीण क्षेत्रका महिला दिदी बहिनीको नेतृत्व तथा व्यक्तित्व विकासमा उत्साह थपेको बताउँदै, यस्ता कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा वडा सदस्य दुर्गा देवी वस्नेत, कल्पना सुनार, पुर्व श्रोत व्यक्ति एवं शिक्षासेवी लेखनाथ लामिछाने, फोकल पर्सन कृष्ण भण्डारी, परिचालिका पवित्रा पौडेल लगायतले तालिम फलदायी रहेको बताउँदै, व्यवहारमा उतार्न आग्रह गरेका छन्।

केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं केन्द्रका सदस्य वैकुण्ठ पौडेलले गर्नुभएको थियो। वि सं २०७२ सालमा स्थापना भएको केन्द्रले शिक्षा, कृषि र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आईरहेको बताईएको छ।