सुनाखरी न्युज / काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ ।सशस्त्र प्रहरीको दुई वटा गोताखोर टोली, नेपाली सेनाको एउटा गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन गरी चार वटा टोली आइतबारदेखि परिचालन गरी खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।यति धेरै टोलीबाट खोजबिन थालिएकाले बेपत्ता भएकाहरु फेला पर्नेमा सुरक्षा अधिकारीहरु आशावादी छन् ।
सुनकोशीको पानीको बहाव समेत अर्कोतर्फबाट कटाउन शनिबारबाटै मेसिन प्रयोग गरिएको छ । २५ प्रतिशत पानी तीन वटा एक्सकाभेटर प्रयोग गरेर अर्कोतर्फबाट कटाइएको छ । आधा पानी फर्काउन सके करेन्ट प्रवाह घटेर खोजीकार्यमा सहजता हुने गोताखोर टोलीले जनाएका छन् । गोताखोर केशव महतका अनुसार सुनकोसी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी कार्य सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ । गहिराइमा पुग्दा समेत केही देखिँदैन्, उनले भने, ‘पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन बेपत्ता हुनेमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र ३२ वर्षीय विद्युत प्राविधिक अधिकृत भानु पौडेल छन् ।
गाडीका चालक ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर बाहिर निस्किएको र उहाँको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।बेपत्ताको खोजीमा शनिबारसम्म सशस्त्र प्रहरीको उपत्यका गोताखोर टोली परिचालन भएको थियो । आइतबारदेखि सशस्त्र प्रहरीकै कुरिनटार गोताखोर टोली, नेपाली सेनाको सुन्दरीजल गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन टोली पनि थपेर चार टोली परिचालन गरिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, खोजी कार्यलाई तीव्र बनाएका छौँ । बेपत्ता हुनुभएकाहरु फेला पर्न सक्नुभएको छैन ।
खोजी गर्न चार वटा टोली परिचालन गरिएकोले बेपत्ता भएकाहरू फेला पर्नसक्ने उहाँको आशा छ । उहाँका अनुसार जीप खसेको ठाउँ सुनकोसी नदीमा पानीको बहाव धेरै र गहिरो भएकोले खोजी गर्न गाह्रो भएको हो ।जीप खसेको भित्तामा सुनकोसी नदी पनि ठोकिएकोले सुरुङ बनेको हुनसक्ने र जीप त्यही सुरुङभित्र पसेको पनि हुनसक्ने अनुमान गरिएको छ ।