२०८१ बैशाख १५ , शनिवार

नेपाल टेलिकमको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको प्रगति विवरण सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेको छ। टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उसको खुद मुनाफा गत आर्थिक वर्षको तुलनामा थोरैले घटेको छ।

 

गत आर्थिक वर्षको यस अवधिसँगको तुलनामा खुद मुनाफा ०.४३ प्रतिशतले घटेर ५ अर्ब ४१ करोड १९ लाख ७४ हजारमा सिमित भएको छ। गत वर्ष ५ अर्ब ४३ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा रहेको थियो। बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएपनि दुरसंचार सेवामा परिवर्तन, केवल व्यवस्थापन जस्ता कुराले टेलिकमको खुद मुनाफामा असर परेको टेलिकमले जनाएको छ।

 

त्यस्तै टेलिकमको कुल संचालन आय ३.०९ प्रतिशतले घटेर २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजारमा सिमित भएको छ। गत आर्थिक वर्षको यस अवधिमा संचालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रहेको थियो। त्यस्तै टेलिकमको कुल आय २.०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रहेको छ। गत आर्थिक वर्षको यस अवधिमा टेलिकमको कुल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार थियो।