२०८१ बैशाख ८ , शनिवार

नेपाल टेलिकममा फेरि देखियो समस्या

सुनाखरी न्युज/ काठमाडौं ।नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ ।

 

नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् ।नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई (VoLTE) सेवामा समस्या देखिएको बताए । ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको छ, हामी समाधानको प्रयास गरिरहेका छौं,’ अधिकारीले भने । मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले २०७८ जेठदेखि फोरजीमा आधारित भ्वाइस ओभर (भीओ) एलटिई सेवाको परीक्षण सुरु गरेको थियो । यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमको दाबी थियो । तर नेपाल टेलिकमको सेवामा पटक-पटक समस्या आउने गरेको छ । यसबाट लाखौं सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको नेतृत्वले समस्याको दीर्घकालीन समाधानमा चासो नदिएको आरोपसमेत लाग्ने गरेको छ ।