२०८१ बैशाख ८ , शनिवार

१० दिनमा तोलामा नै ९ हजार ३३ रुपैयाँले बढ्यो सुनको भाउ

Sunakhari2

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ३३ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला २ हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेसँगै मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

महासंघकाअनुसार २६ फागुन यताको १० दिनमा सुनको मूल्य एक लाख एक हजार रुपैयाँबाट बढेर एक लाख १० हजार ३३ रुपैयाँ पुगेको हो । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यकाअनुसार सुनको मूल्य अझै बढ्न सक्ने देखिन्छ ।

 

माग बढेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अमेरिकाका दुईवटा बैंक आर्थिक संकटका कारण बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको हो ।

सम्भावित आर्थिक संकटमा बैंकको निक्षेप भन्दा सुनमा गरिने लगानी सुरक्षित हुने आर्थिक दृष्टिकोणका कारण लगानीकर्ता सुनमा आकर्षित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । ठूला बैंकबाट नगद निक्षेप झिक्ने र सुन खरिद गर्ने क्रम बढ्दा मूल्य बढेको अनुमान गरिएको छ ।

 

अन्तर्राष्ट्रिय आर्थिक अनलाइन सञ्चार माध्याम ट्रेडिङ इकोनोमीकाअनुसार ९ मार्च सन् २०२३ यता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । त्यसयताको १० दिनमा मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय २९.१ डलरबाट १७५.२ डलर प्रतिऔंसले बढेर १९ सय ८८.१ डलर पुगेको छ ।