२०८० चैत्र १५ , बिहिवार

उड्ने लागेको जहाजभित्र जब एक यात्रु रुन थालिन्…

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायु सेवा निगमको जहाजमा रहेकी एक महिला यात्रु जहाज उड्नुअघि रुवावासी गर्दै ओर्लिने भनेपछि सबै यात्रुलाई ओरालेर एक घण्टा ढिलो गरी जहाज उडाइएको छ ।

भारतको बैंग्लुरुका लागि उड्ने तयारीमा रहेको आरए २२५ उडानमा रहेकी ती यात्रु रोएपछि दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घण्टा डिले गरिएको थियो । त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयका अनुसार महिला रुन थालेपछि सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो ।

 

ती महिलालाई भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ । उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन् ।

निगमनले जहाजभित्र सबै जाँच गरेर एक घण्टापछि थप यात्रुलाई यात्रा गराएको हो । महिलाको यात्रा भने रद्द गराइएको टिडीओ कार्यालयले जनाएको छ ।

उडान नियम अनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जहाज जाँच गरेर मात्रै यात्रा गराइने टीडीओ कार्यालयले जनाएको छ ।