२०८० चैत्र १६ , शुक्रवार

मन्त्री शर्मा र प्रमुख शाह बिच भेट वार्ता : सूचना सञ्चार र सञ्चार प्रविधि कुराकानीको मुख्य विषय

सुनाखरी न्युज/ काठमाडौं । सञ्चार सेवा र सीमाको विषय कानुनले निर्देशित गर्ने बनेको विधेयक छलफलका लागि पठाउने तयारी भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ ।

 

मन्त्रालयमा आज काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँगको भेटका क्रममा उहाँले मौजुदा कानुनको प्रयोग गरेर तार व्यवस्थापन लगायत क्षेत्रमा काम गर्न सकिने बताउनुभयो । इन्टरनेट सेवा प्रदायकहरुका तारको सञ्जालले सहरी सौन्दर्यमा असर गरेको र आगलागीको जोखिम रहेको विषयमा मन्त्री शर्माले सरोकारवालासँग छलफल गर्न मन्त्रालयले संयोजन गर्ने बताउनुभयो । कुराकानीका क्रममा प्रमुख शाहले, पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर झुटा विवरण राख्दै गलत सूचना दिने गतिविधि बढेको बताउनुभयो । ‘यस्ता सूचना र सामग्रीबाट व्यक्तिको सामाजिक तथा सार्वजनिक प्रतिष्ठा र शिष्टाचारमा आँच पुगेको छ । त्यसैले कम्प्युटर र इन्टरनेट सञ्जालको प्रयोग गरेर जालसाजीबाट सामाजिक अपराधमा सम्लग्न कसुरदारलाई कानुनी दायरामा ल्याउने नीतिगत प्रबन्ध गर्नुपर्ने भएको छ ।’ प्रमुख शाहले, सुसूचित हुन पाउने नागरिकको हक प्रत्याभूत गर्न भ्रामक सूचना, समाचार र सन्देशलाई नियन्त्रण गरिनुपर्नेमा जोड दिनुभयो ।

 

‘भ्रामक समाचार दिने पत्रपत्रिका, टेलिभिजन, रेडियोलगायत आमसञ्चार र युट््युवलगायत सामाजिक सञ्जाल व्यवस्थित हुनुपर्छ । गुगल (युट्युव), फेसबुक, ट्वीटर लगायतका सञ्जालहरुको नेपालमा कार्यालय खोल्नु पर्छ । यी माध्यमलाई करको दायरामा ल्याउनु पर्छ ।’ प्रमुख शाहको भनाइ छ । सूचना र तथ्याङ्क सदुपयोग गर्न नीतिगत प्रबन्ध हुन सके मात्र संवेदनशीलता जोगिन सक्ने विषयलाई कुराकानीका क्रममा जोड दिइएको थियो ।