२०८१ बैशाख १३ , बिहिवार

इन्टरनेट नहुँदा पनि प्रयोगकर्ताहरूले ह्वाट्सएपमा मेसेज पठाउन मिल्ने

सुनाखरी न्युज/ काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताहरूको सहजताको लागि नयाँ फिचर थप गर्ने भएको छ। मेसेजिङ एप ह्वाट्सएपले अब इन्टरनेट नहुँदा पनि प्रयोगकर्ताहरूले ह्वाट्सएपमा मेसेज पठाउन मिल्ने फिचर सार्वजनिक गर्ने भएको हो।

 

कम्पनीले प्रोक्सी सर्भरमार्फत प्रयोगकर्ताहरूलाई कनेक्ट गराएर मेसेज पठाउन मिल्ने फिचर ल्याउने भएको हो। बिबिसीका अनुसार यसो हुँदा प्रयोगकर्ताले ह्वाट्सएप चलाइरहेको समय इन्टरनेट कनेक्सनमा समस्या आएपनि मेसेज आदान-प्रदान कार्य भने रोकिँदैन। ह्वाट्सएपका अनुसार इन्टरनेट अवरुद्ध भएपनि मानिसहरूले आफूलाई लागेको कुरा वा धारण आदानप्रदान गर्न पाउनुपर्छ। आपतकालिन समयमा इन्टरनेट नहुँदा पनि मेसेज आदानप्रदान गर्न सके प्रयोगकर्ताहरूको लागि लाभदायी हुने कम्पनीको भनाइ हो। प्रोक्सी सर्भरमार्फत प्रयोगकर्ताहरू कनेक्ट रहँदा प्रयोगकर्ताले सुरक्षित तरिकाले कुराकानी गर्न सकिनेमा समेत कम्पनीले दाबी गरेको छ।

 

‘प्रोक्‍सीमार्फत प्रयोगकर्ताहरू कनेक्ट रहँदा उहाँहरूको गोपनीयतालाई पनि ध्यानमा राखेका छौं। प्रयोगकर्ताको मेसेजहरू इन्ड-टू-इन्ट इन्क्रिप्सन प्रणाली मै आदानप्रदान हुनेछ,’ कम्‍पनीले भनेको छ। इन्ड-टू-इन्ड इन्क्रिप्सन मोडुलमा मेसेज आदान-प्रदान हुँदा कुनै पनि मेसेज प्रणालीमा बस्दैन। मेसेज पठाउने र पाउनेबीच मात्रै सिमित हुन्छ। प्रोक्सी एन्ड अनलाइन डेटा कलेक्सन कम्पनी अक्सील्याबका अनुसार ह्वाट्सएपमा इन्टरनेट नहुँदा पनि मेसेज आदान प्रदान गर्न मिल्ने फिचरले संसारभरका मानिसलाई फाइदा पुर्‍याउनेछ।