२०८० चैत्र १६ , शुक्रवार

सिबिफिनद्धारा प्रधानमन्त्रीलाई मौद्रिक नीति मार्फत नीतिगत सुधारका लागि दवाव दिन आग्रह

सुनाखरी न्युज/ काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय नीतिमा हस्तक्षेप गर्न दवाव लिएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर बहादुर देउवालसँगको भेटघाट यस्तो आग्रह गरेका हुन ।

 

आर्थिक वर्ष २०७९÷८० को लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै गरेको र नेपाल राष्ट्र बैंकले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरुको जानकारी गराएको थियो । भेटघाटका क्रममा सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरुको सहकार्यमा अध्ययन गरी तयार गरेका बैंक तथा वित्तीय संस्थासँग सम्बन्धीत अध्ययनबाट आएका सुझावको तीनमहले समेत पेश गरेको थियो ।

 

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कोभिड–१९ र विश्वमा घटेका विभिन्न घटनाक्रमबाट नेपालको अर्थतन्त्रमा परेका प्रभावहरुको न्यूनिकरण र समस्याग्रस्त उद्योग व्यवसायहरुको पुनरुत्थान, घरेलु, साना तथा मझौला उद्योगहरुको स्तरोन्नति, तरलताको समस्या समाधान, विप्रेषणको व्यवस्थापनका बारेमा आफ्नो धारणा राखेका थिए । त्यसैगरी सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले पेश गरिएका प्रतिवेदनको निष्कर्ष तथा सुझावहरुको वारेमा प्रधानमन्त्रीसमक्ष संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।

सिबिफिनद्वारा बुझाइएका प्रतिवेदन र सुझावहरु ग्रहण गर्दै, प्रधानमन्त्री शेरबहादुर देउवाले सिबिफिनले प्रस्तुत गरेका सुझाव र प्रतिवेदनहरुले औल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनिकरण तथा आयात प्रतिस्थापनका उपायहरु र निर्यातजन्य वस्तुहरु, लगानीका लागि पूँजी निर्माण तथा परिचालन जस्ता विषयहरुमा विशेष जिज्ञासा राखे ।