२०८१ जेठ ५ , शनिवार

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए पुनः घरमा नै फिर्ता पठाइने : मेयर साह

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताएका छन् ।

 

उनले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाएका छन् । “अहिले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल बनेको छ, यसको व्यवस्थापन गर्नु तपाईं र मेरो साझा दायित्व हो”, उनले नागरिकलाई आग्रह गरेका छन्।

 

कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने र नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहर छुट्याएर निकालिनुपर्ने बताएका छन् । “उपत्यकाको फोहोर व्यवस्थापनको समाधान अन्त कतै फ्यालेर वा थुपारेर मात्रै हुँदैन, स्रोतबाट नै कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन”, उनले अपिल गरेका छन् ।

 

यसअघि जे जसरी चलेको भए पनि आगामी दिनदेखि हरेक फोहरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा सहयोग गरी आफ्नो कर्तव्य पूरा गरिदिनेमा आफू ढुक्क रहेको उनले बताए ।