२०८१ बैशाख ७ , शुक्रवार

शैक्षिक संस्थालाई पनि दुई दिन विदा, हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय

सुनाखरी न्युज/ काठमाण्डौं ।

सरकाले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।

सरकारले हप्ताको दुई दिन विदा दिने निर्णय गरेपछि पाठ्यघन्टा घट्न नदिन मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो । सोही छलफलका आधारमा शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिनका लागि हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

सम्बन्धित निकायले हप्तामा दुई दिन विदा गर्दा वर्षभरीमा अधिकतम ३० दिन विदा दिन सक्ने उनले बताए । यसअघि शैक्षिक संस्थाहरुले हिउँदे र वर्षे गरी ४५ दिन र स्थानीय पाँच दिन गरि वर्षभरीमा ५० दिन बिदा दिँदै आएका थिए ।

प्रवक्ता शर्माले विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले विदा व्यवस्थापन गर्नुपर्ने बताए ।

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।