२०८१ बैशाख १४ , शुक्रवार

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडाई, १३०० ट्राफिक प्रहरी परिचालन

सुनाखरी न्युज/ ठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले  होलीलाई मर्यादित र दुर्घटना रहित बनाउने उद्देश्यले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३०० ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको महाशाखाले जनाएको छ । बिहानैदेखि मापसे परीक्षणमा पनि कडाइ गरिएको छ ।

 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले  होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा  बिहीबार बिहानैदेखि दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको जोशीले बताए ।

 

उछृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

 

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।