२०८१ बैशाख १८ , मंगलबार

पशुको पनि अल्ट्रासाउन्ड ?

सुनाखरी न्युज/ काठमाडौं । पशुको पनि अल्ट्रासाउन्ड ? सुन्दा अनौठो लाग्न सक्छ । पाँचथरमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गरेर चौपायाको गर्भ जाँच थालिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरले बोक्नमिल्ने (पोर्टेबल) अल्ट्रासाउन्ड मेसिन पाएपछि कृषकका गोठसम्मै पुगेर वस्तुभाउको गर्भ परीक्षण गर्न थालिएको हो ।

‘मेसिनबाट जनावरको गर्भ परीक्षण, प्रजनन समस्या र विकृत निराकरण गर्न सजिलो भएको छ,’ केन्द्रका प्रमुख डाक्टर मनोजकुमार महतोले भने । उनका अनुसार सामान्य अवस्थामा भाले लगाएर वा कृत्रिम गर्भधारणको प्रक्रिया अपनाएपछि पशुको गर्भाधान भए/नभएको थाहा पाउन कम्तीमा ३ महिना लाग्छ । यो मेसिनको प्रयोग गर्दा महिना दिनमै गर्भबारे थाहा हुन्छ । यो मेसिन गाई, भैंसी, बाख्रा, भेडा, कुकुर र बिरालोसहित सबैजसो चौपायाको गर्भ परीक्षणमा प्रयोग गर्न सक्ने डा.महतोले बताए । भेटेरेनरी अस्पतालले एक महिनाअघिदेखि अल्ट्रासाउन्ड विधिबाट पशुको गर्भ जाँच थालेको हो । ‘हालसम्म ५० वटा गाई र भैंसीको गर्भ परीक्षण गरिएको छ । किसानको माग र आवश्यकताअनुसार यो मेसिन सेवा क्षेत्रभित्र लैजान सकिन्छ,’ उनले भने ।

नेपाल लाइभ स्टक इनोभेसन परियोजनाले कार्यक्रम लागू भएका इलाम र पाँचथरमा एक–एक थान मेसिन उपलब्ध गराएको हो । साढे सात लाख रुपैयाँ पर्ने मेसिन भेटेरेनरी अस्पताललाई अनुदानमा दिइएको जनाइएको छ । परियोजनाले अस्पताललाई जनावरको रगत परीक्षण गर्ने ‘होमाटोएन लाइज’ काउ लिफ्टरजस्ता उपकरण पनि उपलब्ध गराएको छ । ती सबै सामग्रीको मूल्य २० लाख रुपैयाँभन्दा बढी परेको जनाइएको छ । पाँचथरस्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रको सेवा क्षेत्र ताप्लेजुङ पनि हो । केन्द्रले पशु चिकित्सकलाई गाउँ–गाउँ पठाएर चौपायाको स्वास्थ्य परीक्षण भइरहेको डा. महतोले बताए । ‘किसानको माग र आवश्यकताका आधारमा तालिका मिलाएर दुवै जिल्लामा पशुको गर्भ परीक्षण गर्न सक्छौं,’ उनले भने । पाठेघर बाहिरबाटै गर्भ जाँज गर्न मिल्ने, गर्भभित्रको बच्चाको अवस्था मनिटरमा हेर्न मिल्ने र गर्भ परीक्षण रिपोर्ट प्रिन्ट गर्न मिल्ने भएकाले अत्यन्तै उपयोगी ठहरिएको फिदिम–१ का किसान इन्द्र लिम्बूले बताए । ‘भाले लागेपछि प्रायः पशु चौपायाले झुक्याउँछन्, ब्याउने महिना पुग्न लागेपछि फेरि कराउँछन्, यो मेसिन प्रयोग गर्दा दुविधाबाट मुक्त भइने रहेछ,’ उनले भने ।

अल्ट्रासाउन्ड मेसिनको उपलब्धतासँगै चौपायामा सामूहिक एकाकालीन कृत्रिम गर्भाधान कार्यक्रम अगाडि बढाउने योजना रहेको डा. महतोले सुनाए । यो योजनामा चौपायालाई पहिलो, सातौं दिनमा सुई लगाएर गर्भाधानका लागि तयार पारेर दसौं दिन गर्भाधान गराइन्छ । यसरी गर्भाधान गराएका पशु फार्ममा एकैपटक धेरै जनावरको गर्भ परीक्षण पनि गर्न सकिने भएकाले यो मेसिनको उपयोगिता प्रभावकारी हुने पशु चिकित्सक बताउँछन् । यो विधि एकै पटक धेरै जनावरमा प्रयोग गर्न सकिने भएकाले एकाकालीन कृत्रिम गर्भाधान कार्यक्रम भनिएको हो । केन्द्रको तथ्यांकअनुसार पाँचथर र ताप्लेजुङमा सबैभन्दा धेरै बाख्रा पालिन्छन् । त्यसपछि गाई, भैंसी, बंगुर, भेडा र चौंरीपालन हुन्छ । कार्यालयका अनुसार दुवै जिल्लामा २ लाख ६१ हजार ९५८ बाख्रा, १ लाख ६२ हजार ४४० गाई, ७६ हजार ४४६ बंगुर, ६१ हजार ७३८ भैंसी र ६ हजार ९४२ भेडा छन् ।