२०८३ मंसिर १० , बुधवार

अटिजम भएका बालबालिकाका लागि काठमाडौं महानगरले बनाउँदै विशेष विद्यालय

sunita-atisam-silanys-768×440
facebook sharing button
सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय भवनको शिलान्यास गरेको छ ।महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान वडा नम्बर २९ मा ‘काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’ भवनको शिलान्यास गरेकी हुन्।

वडाध्यक्ष कुश ढकाल, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा जग पूजा गरी भवन निर्माणको शुभारम्भ गरिएको हो।शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै डंगोलले अटिजम वा शारीरिक अशक्तताका कारण कुनै पनि बालबालिका शिक्षा तथा अन्य आधारभूत अधिकारबाट वञ्चित हुन नहुने बताइन्। प्रत्येक बालबालिकाले अरूसरह समान रूपमा पढ्न र आफ्ना अधिकार उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो।

काठमाडौंमा अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकलाई आवश्यक सहयोग तथा सेवाको माग बढ्दै गएकाले निर्माण हुन लागेको भवन बहुउपयोगी हुने उनले विश्वास व्यक्त गरिन्। उनका अनुसार भवनलाई अटिजम भएका विद्यार्थीको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन–अनुसन्धान र अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउने केन्द्रका रूपमा उपयोग गरिनेछ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले डिजाइन गरेको भवन वडा नम्बर २९ को प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुनेछ। ४५०।८० वर्गमिटर क्षेत्रफलमा बन्ने भवन पाँचतले हुनेछ। भवनको उचाइ १७ मिटर रहनेछ भने प्रत्येक तलाको क्षेत्रफल तीन हजार वर्गफिट हुनेछ।

महानगरपालिकाले उक्त भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरेको छ।