२०८३ मंसिर ७ , आइतवार

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

whatsapp-image-2026-11-21-at-212718-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रिमियर लिग ( एनपीएल )  सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पाएको छ ।उपाधि जितेसँगै प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी पनि घोषणा भएका छन्। चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्।

प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेका रिजनले सर्वाधिक १७ विकेट लिएका थिए। उनले सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै ओमोडा एन्ड जाएको कार पुरस्कार प्राप्त गरे। यस्तै, उनी उत्कृष्ट बलरसमेत घोषित भए। त्यसबापत उनले पल्सर मोटरसाइकल जितेका छन्।शनिबार सम्पन्न प्रतियोगितामा तेस्रो भएको चितवन राइनोजले ४० लाख रुपैयाँ र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विराटनगर किंग्सका लोकेश बम सर्वोत्कृष्ट ब्याटर घोषित भए ।

उनले प्रतियोगितामा २४२ रन बनाएका थिए । पुरस्कारस्वरूप उनले मोटरसाइकल पाए ।जनकपुर बोल्ट्सका राहुल यादव उदयीमान खेलाडी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरे । चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिसरा रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले २ लाख रुपैयाँ पुरस्कार पाए ।

यस्तै, युवराज साम्रा प्लाटिनम क्याप विजेता बने । प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीका रूपमा उनले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । लुम्बिनी लायन्सले एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको छ ।