
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रिमियर लिग ( एनपीएल ) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट बिक्री सुरु नहुँदै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला गर्ने भनिए पनि त्यसको केही मिनेटअघि नै टिकट सकिएको सूचना देखिएको थियो। दिउँसो १२ बजेर ५७ मिनेटमा प्लेटफर्म खोल्दा फाइनल खेलको टिकट ‘सोल्ड आउट’ देखिएको प्रयोगकर्ताहरूले बताएका छन्।
जबकि केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री सुरु हुने समय दिउँसो १ बजे उल्लेख थियो।यस सिजन उपाधिका निम्ति फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन् । फाइनल खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।
सुदूरपश्चिमले बिहीबार क्वालिफायर्स–२ मा चितवन राइनोजलाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । लुम्बिनीले भने क्वालिफायर्स–१ मा सुदूरपश्चिमलाई नै हराएर फाइनल प्रवेश गरेको थियो ।