२०८३ मंसिर ४ , बिहिवार

बंगलादेशमा फेरि भड्कियो हिंसा

Bangaldesh-violence-Set-fire-1024×492

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा  राजनीतिक तनाव चुलिएको छ ।

प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् । घटनामा मानवीय क्षतिसमेत भएको बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

 

ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार छ ।

 

बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन् । विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ ।

हिंसाका घटनामा राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन् । पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्‍यालीमाथि गरेको आक्रमणमा सत्तारुढ दलका दुई स्थानीय नेताको मृत्यु भएको समाचारमा जनाइएको छ ।

त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि मृत्यु भएको छ ।

 

अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।

सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् ।