२०८३ मंसिर ४ , बिहिवार

नेपाल र बंगलादेशबीच ऐतिहासिक टी–२०आई खेल हुने

nepali-cricket-team-CAN

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।

बंगलादेशले लर्ड्समा पहिलो पटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यसअघि सन् २०२६ मा बंगलादेशको महिला टोलीले लर्ड्समा खेलेको थियो। नेपालले भने लर्ड्समा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो। नेपालले यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग त्यहाँ खेलेको थियो।मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो।

एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले बंगलादेशसँग लर्ड्समा खेल्नेछ। उक्त खेल सोही दिन लर्ड्समा हुने मिडलसेक्सको टी–२० ब्लास्ट खेलसँगै आयोजना हुनेछ। यो लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल एकै दिन आयोजना हुन लागेको पहिलो अवसर हुनेछ।