
सुनाखरी न्युज/ काठमाडौं ।
ममता काफ्लेको हत्या प्रकरणमा अमेरिकाको भर्जिनिया राज्यमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार गरेको हो । ममता सन् २०२४ को जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन् । उनको शव अहिलेसम्म फेला परेको छैन ।
करिब छ सातासम्म चलेको सुनुवाइमा झन्डै १०० जनाले साक्षीका रूपमा बयान दिएको पिपुल पत्रिकाले जनाएको छ । फैसलापछि भट्टले हत्याको अभियोगमा आजीवन कारावाससम्मको सजाय पाउन सक्नेछन् । उनको सजाय निर्धारणका लागि आगामी १२ मार्च २०२७ को मिति तोकिएको छ ।
सुनुवाइका क्रममा भट्टले ममताको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरेका थिए । तर उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका थिए ।