२०८३ कार्तिक १७ , सोमवार

गाँजा लोड गरिरहेका ५ जनालाई पक्रन प्रहरीद्वारा हवाई फायर

gada-sunsari2026-11-02-09-13-46

सुनाखरी न्युज/ काठमाडौं ।

सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरी भारी परिमाणको गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । दुईवटा जिपमा गाँजा लोड गरी लैजाने तयारी भइरहेका बेला प्रहरी टोलीले करिब २१० किलोग्राम गाँजा बरामद गरेको हो । सोमबार बिहान करिब ३ बजेको समयमा गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई देखेपछि शंकास्पद व्यक्तिहरू भाग्न खोजेका थिए ।

स्थिति नियन्त्रणमा लिन र आरोपीहरूलाई उम्किन नदिन प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले बा. १ च ५०३८ र को. १ च ८१८२ नम्बरका दुईवटा जिप खानतलासी गर्दा आठवटा ठूला पोकामा राखिएको २१० किलो गाँजा फेला परेको थियो । पक्राउ पर्नेहरूमा बा. १ च ५०३८ नम्बरका जिप चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव र को .१ च ८१८२ नम्बरका जिप चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह रहेका छन् ।

त्यस्तै, सप्तरीको राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे र भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका पाँचै जना र नियन्त्रणमा लिइएका दुवै सवारीसाधनलाई हिरासतमा राखी लागू औषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।