२०८३ कार्तिक १९ , बुधवार

दुई वटा रेल दुर्घटना भएपछि स्पेनका यातायात मन्त्रीले दिए राजीनामा

1793776905-xj006

सुनाखरी न्युज/ काठमाडौं ।

एक वर्षमै दुई वटा भीषण रेल दुर्घटना भएपछि स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । म्याड्रिडको दक्षिणमा रहेको उर्दा सहरनजिक भएको रेल दुर्घटनाबारे संसद्मा जवाफ दिएपछि उनले राजीनामाको घोषणा गरेका हुन् । उनले आगामी संसदीय निर्वाचनका लागि तयार पारिएको उम्मेदवारको सूचीबाट समेत आफ्नो नाम फिर्ता लिएका छन् ।

‘दुर्घटना भएको केही मिनेटभित्रै मैले आफ्नो भविष्यबारे निर्णय गरिसकेको थिएँ,’ पुएन्तेले म्याड्रिडमा सांसदहरूलाई सम्बोधन गर्दै भने, ‘स्पेनजस्तो देशको यातायातमन्त्रीले एक वर्षभन्दा कम अवधिमा यति गम्भीर प्रकृतिका दुई वटा दुर्घटना भएपछि पदमा रहिरहनु उचित हुँदैन ।

ती दुर्घटनाका कारण फरक भए पनि र त्यसमा मेरो प्रत्यक्ष जिम्मेवारी भए पनि, नभए पनि मैले पद छोड्नुपर्छ भन्ने लाग्यो ।’उक्त दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक मानिएको छ । सन् २०१३ पछि स्पेनमा भएको यो सबैभन्दा ठूलो रेल दुर्घटना हो ।यसअघि गत जनवरीमा दक्षिणी स्पेनमा एउटा रेल लिकबाट बाहिरिएर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा ४५ जनाको ज्यान गएको थियो ।

स्पेनको तीव्र गतिको रेल सञ्जाललाई देशको प्रमुख पूर्वाधार उपलब्धिमध्ये एक मानिन्छ । चीनपछि विश्वकै दोस्रो ठूलो उच्च गतिको रेल सञ्जाल रहेको स्पेनमा तीन दशकभन्दा बढी समयसम्म कुनै घातक रेल दुर्घटना भएको थिएन ।तर, एक वर्षभित्रै भएका दुई ठूला दुर्घटनाले स्पेनको रेल सुरक्षामाथि प्रश्न उठाउनुका साथै यसको अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत असर पारेको छ ।