२०८३ कार्तिक १८ , मंगलबार

नेपालबाट सवा २ करोड लिटरभन्दा बढी जुस निर्यात

fruit-juices-for-health

सुनाखरी न्युज/ काठमाडौं ।

साउनदेखि असोजसम्मको अवधिमा नेपालले २ अर्ब २० करोड रुपैयाँभन्दा बढी मूल्यको जुस विभिन्न मुलुकमा निर्यात गरेको हो।भन्सार विभागले सार्वजनिक गरेको हालैको तथ्यांक अनुसार यस समीक्षा अवधिमा नेपालबाट कुल २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड २६ लाख ६९ हजार ५ सय ७५ लिटर विभिन्न प्रकारका फलफूल तथा तरकारीका जुसहरू बाहिरी मुलुकमा पठाइएको हो ।

नेपाली जुसको मुख्य र सबैभन्दा ठूलो गन्तव्य छिमेकी राष्ट्र भारत रहेको छ भने केही परिमाणमा चीन र जापानमा समेत नेपाली उत्पादित जुसहरू निर्यात भएका छन् । निर्यात भएका कुल जुसमध्ये सबैभन्दा बढी अंश ‘मिक्स जुस’  ( विभिन्न फलफूलको मिश्रण )  को रहेको छ । चालू आवको पहिलो त्रैमासमा मात्रै १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको १ करोड ५७ लाख ५६ हजार ६ सय २४ लिटर मिक्स जुस निर्यात भएको छ ।

जसमध्ये भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख रुपैयाँभन्दा बढीको मिक्स जुस गएको छ भने जापानमा २३ लाख ४७ हजार र चीनमा ९ लाख ३५ हजार रुपैयाँ बराबरको मिक्स जुस निर्यात भएको भन्सार विभागले जनाएको छ । मिक्स जुसपश्चात नेपालबाट सुन्तला र भुइँकटहरको जुस उच्च परिमाणमा निर्यात भएको छ ।

यस तीन महिनाको अवधिमा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २ सय ७५ लिटर सुन्तलाको जुस तथा २२ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको १८ लाख ४३ हजार ३ सय २६ लिटर भुइँकटहरको जुस भारततर्फ मात्र शतप्रतिशत निर्यात भएको छ । त्यस्तै, १ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार २५४ लिटर ग्रेपफ्रुट जुस र १ करोड २५ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ५६ हजार १९२ लिटर गोलभेँडाको जुस पनि भारत निर्यात भएको भन्सार विभागले जनाएको छ।