
सुनाखरी न्युज/ काठमाडौं ।
इलाममा अनशनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई सोमबार बिहान काठमाडौँ ल्याइएको हो । इलाममा रहेका केसीका सहयोगी पवन थापाले थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाइएको जानकारी दिए । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ ।
टाइप २ मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।
विभिन्न माग राख्दै डा. केसीले गत बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत वर्ष असोज १४ गते राति करिब ८ बजे इलाम अस्पताल भर्ना गरिएको थियो ।