
सुनाखरी न्युज/ काठमाडौं ।
आज बिहीबार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवातमा विकसित हुने सम्भावना छ । उक्त प्रणालीको प्रभावले नेपालका विभिन्न स्थानमा झरी पर्नुका साथै केही ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको पोखरेलले जानकारी दिइन्। उच्च पहाडी तथा हिमाली भूभागमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छन्। बिहीबार बेलुकादेखि शनिबारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख गर्दै उनले यस अवधिमा अन्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताएकी छन्।
यसबारे पोखरेलले भनिन्, ‘आज लगभग देशभरि बदली नै हुने देखिन्छ। केही ठाउँमा हल्का वर्षाको सम्भावना रहन्छ। बेलुका भने थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्छ भने उच्च हिमाली तथा पहाडी भूभागमा हिमपातको सम्भावना छ। त्यसैले आज बेलुकादेखि शनिबारसम्म उच्च पहाडी र हिमाली भूभागमा विशेष सतर्क हुन आग्रह गर्छौँ। पाकिसकेको धान अहिल्यै नकाट्नु राम्रो हुन्छ, यो मौसम सफा भएपछि मात्र काट्दा फरक पर्दैन।’