२०८३ कार्तिक १३ , बिहिवार

नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव सुरु, पर्न थाल्यो पानी

weather-1

सुनाखरी न्युज/ काठमाडौं ।

बिहीबार (कात्तिक १२) बिहान कोसी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसको प्रभाब विस्तारै देशभर पर्नेछ । कोसीमा बिहान ८ बजेयता पानी परिरहेको महाशाखाका मौसमविद् निष्ठा निरौलाले जानकारी दिइन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अब यसको प्रभाव क्रमशः देशभर पर्नेछ । अहिले उक्त प्रणाली कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ । प्रणाली कमजोर भए पनि नेपालमा वर्षा र हिमपातको सम्भावना छ ।

बिहीबारदेखि शनिबार (कात्तिक १२–१४)सम्मलाई काठमाडौंमा मध्यमसम्मको वर्षाको पूर्वानुमान रहेको उनले बताइन् । “काठमाडौंमा भोलि र पर्सिलाई मध्यमसम्मको, हल्कादेखि मध्यमसम्मको वर्षा हुनेजस्तो सम्भावना छ,” उनले भनिन् । काठमाडौंमा निरन्तर वर्षाको सम्भावना नरहेको उनले बताइन् । पर्ने, रोकिने र फेरि पर्ने हुने उनको भनाइ छ ।

यो अवधिमा काठमाडौंमा हावाहुरीको सम्भावना नरहेको उनले स्पष्ट पारिन् । “काठमाडौंमा खासै त्यस्तो छैन,” उनले भनिन्, “तराई भेगमा चाहिँ हावाहुरी चल्ने सम्भावना अलि धेरै रहेको छ । अनि अर्को भनेको, हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको छ ।”पूरै काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले बताइन् । काठमाडौंका एक–दुई स्थानमा भारी वर्षाको पनि न्यून सम्भावना रहेको उनले उल्लेख गरिन् ।