
सुनाखरी न्युज/ काठमाडौं ।
भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्व सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोहसमेत हुनेछन् । काठमाडौंको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेखीय सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
पुराना पुस्ताका चलचित्रकर्मीलाई सम्मान गर्दै नयाँ पुस्तामा कला र सिर्जना हस्तान्तरण गर्नुका साथै काठमाडौंका ओझेलमा परेका कथा तथा स्थानीय जीवनशैलीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु महोत्सवको अर्को उद्देश्य हो । महोत्सवमा सहभागी विदेशी चलचित्रकर्मीले नेपाली कलाकार, निर्माता, वितरक, प्रवद्र्धक, प्रदर्शक तथा चलचित्र अध्ययनरत विद्यार्थीसँग विभिन्न कार्यक्रममा अन्तरक्रिया गर्नेछन् । त्यस्तै, दीप्ति डीकुन्हाले ‘सिर्जनात्मक सहरहरूको प्रवद्र्धनका लागि फिल्म र महोत्सव’ विषयक प्यानल छलफलमा भाग लिने कार्यक्रम छ ।
जापानी निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिनेछन् । कात्तिक १५ गते पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवबीच चलचित्र सौन्दर्यशास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन् । सोही दिन ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य’ विषयमा प्यानल छलफल पनि हुनेछ । महोत्सवको उद्घाटन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रासहित हुनेछ ।
कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’ को प्रदर्शन र अवार्ड समारोह आयोजना गरिनेछ । नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ ।
महोत्सवको अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत विभिन्न देशका समकालीन, स्वतन्त्र तथा सांस्कृतिक विविधता प्रस्तुत गर्ने चलचित्र प्रदर्शन गरिनेछन् । सूचीमा चिनियाँ चलचित्र ‘डियर यु’, भारतीय चलचित्र ‘बयान’, अस्ट्रेलियाली चलचित्र ‘मिस एन प्लेस’, अस्ट्रेलिया–मंगोलियाली चलचित्र ‘स्टेयर्स’, अमेरिकी चलचित्र ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’, फ्रान्सेली चलचित्र ‘ला ग्राभिडा’, कोरियाली चलचित्र ‘द किङ्स वार्डेन’, सिंगापुर–भारतीय चलचित्र ‘नट अ हिरो’, जर्मनी–अफगानिस्तानको ‘नो गुड मेन’ र अमेरिकी चलचित्र ‘द गडफादर’ रहेका छन् ।
समापनका अवसरमा नेपाली–अमेरिकी–फ्रान्सेली–अस्ट्रेलियाली चलचित्र ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गरिनेछ । जापानको यामागाता युनेस्को क्रिएटिभ सिटी अफ फिल्मबाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटिज’ पनि महोत्सवमा देखाइनेछ । महोत्सवको ‘नेपाल पानोरामा सट्र्स’ अन्तर्गत नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई १ लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।