
सुनाखरी न्युज/ काठमाडौं ।
बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभाव नेपालमा पनि देखिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणका अनुसार चक्रवात थप शक्तिशाली बन्दै गएकाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ। यी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ, हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम औँल्याउँदै प्राधिकरणले अनावश्यक यात्रा नगर्न, मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।