२०८३ कार्तिक १० , सोमवार

आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

photo_6fcdf0e9-1536×864

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख सहरमा फ्लडलाइट सुविधासहितका क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ। नेपाल प्रिमियर लिग  ( एनपीएल )  को तेस्रो संस्करण सुरु भएको अवसरमा पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले सामाजिक सञ्जालमार्फत उक्त निर्णयबारे जानकारी दिएका हुन्।

मन्त्री लाम्सालका अनुसार ‘होम एन्ड अवे’ ढाँचामा क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्न सकिने गरी रङ्गशाला निर्माणको योजना तयार पारिएको हो। निर्माण गरिने प्रत्येक रंगशालामा कम्तीमा ८ हजार दर्शक क्षमताका साथै आधुनिक फ्लडलाइटको व्यवस्था रहने र तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको उनले बताएका छन्।

यस पूर्वाधार विकासको योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा समग्र नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री लाम्सालले नेपाल क्रिकेट संघ  ( क्यान )  लाई पनि सोहीअनुरूप आवश्यक तयारी थाल्न आग्रह गरेका छन्।