
सुनाखरी न्युज/ काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रहरी दिवसको अवसरमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले प्रहरी संगठनले नागरिकको विश्वास जित्ने गरी आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्। उनले नयाँ पुस्ताले राज्यप्रति उठाइरहेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
“नयाँ पुस्ताले सोधेको छ, राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरै देशमा उज्ज्वल बन्छ कि बन्दैन र ? ” भन्दै उनले नागरिकका यस्ता प्रश्नको जवाफ राज्यले आफ्नो काम र व्यवहारबाट दिनुपर्ने सन्देश दिए।उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक रहेको जिकिर गरे ।
“प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ । सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन,” गृहमन्त्री गुरुङले भने ।