२०८३ आश्विन २० , मंगलबार

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

congress 2 15

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशभरिबाट चुनिएर आएका कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।

महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिई उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

त्यस्तै, दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु‍र्‍याएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु‍र्‍याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ । दुई खुला सह–महामन्त्री थपिएका छन् । यससँगै सह–महामन्त्रीको संख्या ११ पुगेको छ ।