२०८३ आश्विन १७ , शनिवार

‘सांसद रहबर अन्सारीले उठाएका भ्रमपूर्ण विषयको निष्पक्ष परीक्षण हुन तयार छौं’ नेशनल मेडिकल कलेज

national medical college

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाका सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा उठाएका आरोपप्रति कलेजले आपत्ति जनाउँदै ध्यानाकर्षण भएको बताएको छ । कलेजले शुक्रबार एक विज्ञप्ति जारी गरि प्रतिनिधि सभाको बैठकमा सांसद अन्सारीले व्यक्त गरेका सम्पूर्ण आरोपहरू तथ्यहिन, अप्रमाणित रहेको सार्वजनिक गरेको हो ।

शुक्रबारकै प्रतिनिधि सभा बैठकमा बारा क्षेत्र नं .  ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अन्सारीले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने गरि तथ्यहिन विषयहरू बोलेका थिए । कलेजमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनमा समर्थन जनाउँदै अन्सारीले भ्रमपूर्ण विषयहरू उठाएका थिए ।

कलेजका प्रशासन प्रमुख विश्वनाथ कन्ठद्वारा जारी विज्ञप्तिमा नेशनल मेडिकल कलेज सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्था भएको उल्लेख गरिएको छ । कलेजका अनुसार संस्था चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन र नियामकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको छ ।

सांसद अन्सारीले उठाएका आरोपका सम्बन्धमा कुनै पनि सम्बन्धित नियामक वा सरकारी निकायबाट आरोप पुष्टि भएको आधिकारिक निष्कर्ष प्राप्त नभएको कलेजले जनाएको छ । साथै, तथ्यमा आधारित, निष्पक्ष तथा पारदर्शी परीक्षणका लागि कलेज तयार रहेको र सम्बन्धित निकायलाई आवश्यक अभिलेख तथा विवरण उपलब्ध गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेजी आधार र अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्नेमा सांसद अन्सारीले तथ्यहिन विषयहरू उठान गरेको कलेजको ठहर छ । सांसद अन्सारीको अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने पनि कलेजले जनाएको छ । कलेजले आफ्नो करिब २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।