
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ।
सङ्घीय निजामती सेवा विधेयकमा यस्तो बिदा दिन प्रस्ताव गरिएको हो।
हाल प्रचलित निजामती सेवा ऐनमा यस्तो व्यवस्था छैन।
हाल निजामती कर्मचारीहरूले विभिन्न शीर्षकमा बिदा पाउने भए पनि महिनावारी हुँदा बिदा पाउने व्यवस्था छैन।
कर्मचारीहरूले अहिले भैपरी ६ दिन र पर्व बिदा ६ दिन गरी वर्षमा १२ दिन बिदा पाउने गरेका छन्। त्यसबाहेक घर बिदा वर्षमा एक महिना पाउँछन्। बिरामी बिदा वर्षमा १२ दिन पाउँछन्।
मातृत्व तथा प्रसूति बिदा महिलाले ९८ दिन पाउँछन्। तर महिलाले चाहेमा थप ६ महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्छन्। पुरुषले प्रसूति स्याहार बिदा १५ दिन पाउने गरेका छन्।
त्यसबाहेक मृत्यु संस्कार बिदा ९किरिया बिदा० १५ दिन पाउँछन्।
कर्मचारीहरूले अध्ययन बिदा पनि पाउँछन्। तर यस्तो बिदा अध्ययन अवधिभरका लागि लागू हुनेछ।
त्यसबाहेक असाधारण बिदाको व्यवस्था पनि छ। कर्मचारीले सेवा अवधिमा नबढ्ने गरी तीन वर्ष यस्तो बिदा पाउँछन्। तर यस्तो बिदामा तलब पाउँदैनन्।
कर्मचारीहरूले बेतलबी बिदा पनि पाउँछन्। पति वा पत्नी विदेशस्थित नेपाली दूतावासमा वा नियोगमा खटिई गएमा त्यस्तो कर्मचारीले पाँच वर्षमा नबढ्ने गरी बेतलबी बिदा पाउनेछ।