
सुनाखरी न्युज/ काठमाडौं ।
आज सवारीसाधन, कलकारखाना तथा विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदै छ। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।हरेक वर्ष जस्तै यस वर्ष पनि विभिन्न कलकारखानामा भगवान विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी पूजा गर्ने प्रचलन रहेको छ। पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने चलन छ।
विश्वकर्मा पूजामा कलकारखाना विशेष रूपमा सजाइन्छ र मजदुरसहित सबैले सहभागी भएर भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ।यस अवसरमा विभिन्न उद्योग तथा व्यवसायमा प्रयोग हुने मेसिन, उपकरण, औजार र सवारीसाधन सफा गरी पूजा गर्ने चलन छ।
भक्तजनहरूले भद्रकालीलगायत विभिन्न विश्वकर्मा मन्दिर तथा धार्मिक स्थलमा पुगेर पूजा–आराधना गरिरहेका छन्। विश्वकर्मा पूजालाई श्रम, सीप, प्रविधि र निर्माणसँग जोडिएको पर्वका रूपमा समेत लिइन्छ। नेपालका विभिन्न स्थानमा आज विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी विश्वकर्मा पूजा मनाइँदैछ।